Media Network

फोहोर खसाल्न प्रभावितसँग शुक्रबार सरकारको वार्ता


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर खसाल्नेबारेमा नुवाकोटको बञ्चरेडाँडाका प्रभावित क्षेत्रका बासिन्दासँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको हो । 

फोहोर ब्यवस्थापनमा मुख्य जिम्मेवार शहरी विकास मन्त्रालयका प्रतिनिधि र प्रभावित क्षेत्रका नागरिकको समस्या र समाधानबारेमा छलफल हुनेछ । 

ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपाध्यक्ष सनत उप्रेतीकाअनुसार विहान ८ बजेको वार्तामा संघर्ष समिति, ककनी गाउँपालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरुलाई बोलाइएको छ ।

महानगर, मन्त्रालय र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबीच त्रिपक्षीय सहमति भई बुधबारदेखि फोहोर फाल्न शुरु गरिए पनि स्थानीय संघर्ष समितिले अवरोध गरेपछि सरकारले प्रभावित संघर्ष समिति लगायत स्थानीय प्रतिनिधिहरुसँग नै वार्ता गर्न लागेको हो ।  

काठमाडौंको फोहोर लिएर बन्चरेडाँडा ल्यान्डफिल साइटमा पुगेका झन्डै डेढ सय ट्रकहरु स्थानीय बासिन्दाले फर्काइदिएका थिए । स्थानीयको अवरोधपछि सुरक्षा सतर्कता अपनाएर फोहोर बिसर्जन गर्न थालिएको थियो । सरकारले आफूहरुको माग सम्बोधन नगरी जबर्जस्ती बल प्रयोग गरेर फोहोर फाल्न थालेको भन्दै आन्दोलन जारी राखेका छन् । स्थानीयको विरोध रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप पनि भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास समेत प्रहार गरेको थियो । 

गत जेठ १४ गतेदेखि काठमाडौंको फोहोर नउठेपछि वर्षासँग प्रदुषण झनै फैलिएको छ । वर्षाको भेलमा काठमाडौंका सडकमा फोहोर तैरिरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद