छिमेकी मुलुकहरूको तुलनामा जडान गर्न लाग्ने शुल्क महँगो भएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । केहीले भने नम्बर प्लेटमा लेखिने भाषाको विषय उठान गरेर अंग्रेजीको विकल्प खोज्न सुझाएका छन् ।
भाषाविद्हरूले देवनागरी लिपिमा लेख्नुको साटो अंग्रेजीलाई प्रश्रय दिने काम गरिएको आरोप लगाएका छन् । उनीहरूको प्रश्न छ, ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?’
देवनागरी लिपिमा नलेखेर नेपाली भाषालाई समाप्त पार्न खोजिएको भाषाविद् गाउँले बलदेव (बलदेव अधिकारी) को आरोप छ । ‘नेपाली भाषाको पहिलो व्याकरण अंग्रेजले नै लेखिदिए । नेपाली भाषाको पहिलो शब्दकोश पनि अंग्रेजले नै लेखिदिए । हाम्रो भाषामा पहिल्यैबाट धेरैतिरबाट आक्रमण भएको छ । शासकहरू जतिपल्ट फेरिन्छन्, तिनले भाषा नै शक्ति देशलाई चढाएका छन्,’ उनले भने, ‘अहिले फेरि अंग्रेजी भाषामा इम्बोस्ड नम्बर लेखेर देवनागरी लिपि समाप्त पार्न खोजिएको छ ।’
लिपि नै भएन भने लिखित भाषा नरहने उनको भनाइ छ । ‘नेपालका कैंयौ भाषा मरे, जसलाई लिपिबद्ध गरिएको थिएन,’ नेपाली भाषा बचाउ अभियान २०७२ का संयोजकसमेत रहेको गाउँलेले भने, ‘लिपि समाप्त पारेपछि भाषा समाप्त पार्न सजिलो हुन्छ । त्यसैले भाषा जोगाउन देवनागरी लिपिमा इम्बोस्ड जडान गर्न जरुरी छ ।’
कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले पनि केही दिनअघि संसद्मा नेपाली भाषामा किन इम्बोस्ड नम्बर नलेखिएको हो भन्दै प्रश्न गरेका थिए, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।