Media Network

इनरुट मौसम सफा नभएसम्म उडान गर्न नपाउने क्यानको निर्णय


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं। नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको छ । आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गर्दै यस्तो निर्णय गरेको हो । 

अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए । 

‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’ प्रवक्ता कर्णले भने । अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो ।

अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उनको भनाई छ । 

यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु नहुने उनको भनाइ छ । 

आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धि कडा नियम ल्याएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद