काठमाडौंका होटल रेष्टुरेन्टहरुमा युवायुवतिहरु नयाँ वर्षको खुशीयाली मनाइरहेका देखिन्थे । कोरोना संक्रमणपछि चितवनको सौराहामा पनि आन्तरिक पर्यटक बुधबार सबैभन्दा बढी देखिएका थिए ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति हो । आज वर्षको जेठो दिन पनि हो ।
नयाँ वर्ष आरम्भ भएको अवसरमा देश विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् भने समाजिक सञ्जालहरुमा पनि शुभकामना साटासाट गरिरहेका छन् ।
नयाँ वर्षको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन् । नयाँ वर्षका अवसरमा आज सरकारले सार्वजनिक बिदासमत दिएको छ ।
विक्रम सम्बत नेपालको राष्ट्रिय पात्रो
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो ।
यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिखमा पर्दछ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । विक्रम सम्बत नेपालको आदि संवत् पनि हो ।
नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरे पनि रामशाहको पाला र त्यो भन्दा अगाडि प्रयोग भएका धेरै उदाहारहरू छन् ।
विक्रमादित्य राजाको बारेमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख भेटिन्छ । तत्कालीन श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत प्रचलनमा आएको भन्ने उल्लेख छ ।
त्यस्तै, काभ्रेपलाञ्चोक जिल्ला को नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ ।