पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
––
यस्तै, मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको छ ।
––
दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड पनि अवरूद्ध भएको छ ।
यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार सिद्धबाबादेखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेको छ ।
––
यता, निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग पनि अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।
लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।