कुलतमा लागेका सुदीप कसरी भए, हिपअपका जी–बब ?


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
कुलतमा लागेका सुदीप कसरी भए, हिपअपका जी–बब ?
काठमाडौं । केही समयअघि पोखरामा भएको र्याप प्रतियोगितामा फाइनलमा पुगेका थिए, सुदीप भण्डारी उर्फ जी–बब । लागूऔषध प्रयोगकर्ता भण्डारी भण्डारी हरेक कार्यक्रममा नशामै लठ्ठिएर गीत गाउने गर्छन् । 

पोखराको प्रतियोगितामा फाइनलमा पुगेका उनी एकाएक गायब भएपछि उनको खोजी हुन थाल्यो । तर उनको वास्तविकता गुमनाम थियो । 

‘मिलेन तेरो लेबल बाउ बोला...’ भन्ने सुदीपको र्याप निकै चर्चामा पुग्यो । युवापुस्ता र हिपप फ्यानहरुमा सुदीप जी–बबका नामले चिनिए । 

केही वर्षदेखि सुदीपले लागूऔषध प्रयोग गर्न थालेपछि वैदेशिक रोजगारीका लागि दुबईमा रहेका बाबु राजकुमार भण्डारी चिन्तित भए । झण्डै चार वर्षदेखि विदेशमा रहेका राजकुमारले आफ्नो छोरा कुलतमा फसिसकेको धेरैसमयपछि मात्रै थाहा पाए । 

परिवारकै सल्लाहअनुसार लम्जुङबाट ल्याएर पहिलो पटक बाबुआमाले नै सुनाकोठीमा सुधार केन्द्रमा राखेको आमा हरिमायाले बताइन् । आमाबाबुले छोरालाई कुलतबाट हटाउन भन्दै गरेको प्रयत्न सुदीपलाई मन परेन । 

ड्रक्समा फसिसकेका उनी आफूजस्तै साथी संगतको खोजीमा हुन्थे । आईटी इन्जिनियर बनाउने बाबुको सपना भए पनि उनी कुलतमा लागेसँगै हिपपमा आकर्षित भए । 

र्याप ब्याटलमा राम्रो सम्भाना देखेपछि सुदीप अल नेपाल टप फ्यामिली (एएनटीएफ)का प्रमुख निम्साङ शेर्पाको नजरमा परे । कुलतमा फसिसकेका सुदीपलाई भने लागूऔषध प्रयोग गर्नका लागि आर्थिक जोहो गर्नुपर्ने थियो । आफ्नो संस्थामा दुई वर्षको ‘कन्ट्याक्ट’ गरेर सुदीपलाई लागूऔषध प्रयोग गर्न पुग्ने मनग्गे पैसाको जोहो उनै शेर्पाले गरिदिए । 

हिपपको क्षेत्रमा सुदीप जति चर्चित हुँदै गए, एएनटीएफको आम्दानी पनि उति नै बढ्न थाल्यो । एएनटीएफले सुदीपलाई काठमाडौंदेखि देशका विभिन्न सहरहरुमा हुने शोदेखि सिक्किमसम्म पुर्यायो । 

शेर्पाकाअनुसार, एएनटीएफले अन्तर्राष्ट्रिय शो गरेको भनेको सिक्किमको फ्रि इन्टरनेन्मेन्ट हो, त्यसमा जी–बब सहभागी थिए । 

दुई वर्षका लागि सम्झौता गरेको एएनटीएफले सुदीप उर्फ जी–बबको एल्बम निकालिदिने आश्वासन दिएको छ । जी–बबको एल्बम निकालिदिएपछिको दुई वर्षको आफ्नो कन्ट्रयाक्ट रहेको शेर्पाले सार्वजनिक रुपमा नै बताएका छन् । आफूले कलकारको सम्मान गर्ने भन्दै शेर्पाले हरेक कार्यक्रमको ७० प्रतिशत जीबबलाई र ३० प्रतिशत मात्रै आयोजकले लिने गरेको शेर्पाले बताएका छन् । 

लागूऔषध प्रयोगकर्ता जी–बबको क्षमतालाई देखेर नै एएनटीएफले आफ्नै खर्चमा सुधार केन्द्रमा राखेकोसमेत शेर्पाको दाबी छ । 

सुधार केन्द्रमा राखिएका सुदीप कन्सर्टका लागि भन्दै अष्ट्रेलियासमेत पुर्याइयो । हिपप मन पराउने जोकसैको पनि लागि मन पराइएका सुदीपलाई एएनटीएफले लागूऔषध सुधार भन्दा पनि आर्थिक उपार्जनको माध्याम बनायो । जसलाई शेर्पाले आफ्नो ब्यवसायका रुपमा हेरेका छन् । सुदीपको र्याप चर्चित बनेकै कारण पछिल्लो समय चलचित्र ‘ए मेरो हजुर ४’ मा उनको गीत गाउने मौका पाए । 

तर हिपप संगीत क्षेत्रमा चर्चित बन्दै गए पनि सुदीप भने कुलतबाट मुक्त हुन सकेनन् । जी–बब र्यापर भनेर चर्चित बनिसकेका सुदीपलाई सुधार्ने बाबुआमाको चाहनामा एएनटीएफका शेर्पा बाधक बनेको निश्कर्षसहित उजुरी दिएपछि पुनः सुदीपलाई बाबुआमाको प्रतिकारमा उतिरियो ।

आफूलाई बेष्ट ब्याटल र्यापर जी–बब भन्ने सुदीपलाई सांगितिक कार्यक्रमहरुमा मात्र होइन, मिडियाका सामु उभ्याइँदा पनि अस्वस्थ देखिए । आफ्नो र्याप ब्याटलमा मात्रै छाडापन होइन, आमालाई लगाएको लान्छनादेखि पत्रकार सम्मेलनमै बोलेको जी–बबको अश्लिल शब्द प्रयोगले उनी स्वस्थ भइनसकेको प्रष्ट झल्किन्छ । 

जी–बबले माइक अगाडि गएर अश्लिल शब्द बोल्न पाउने हिपप पार्टीको स्वतन्त्रता हुन्छ भने पनि यो क्षेत्रका विज्ञहरु भने यसमा सहमत देखिदैनन् ।  

पछिल्लो समय फ्रि इन्टरटेन्मेन्टका दीपक नेपालीले जी–बबको ‘फाइनली भेटियो’ भिडियो सार्वजनिक गरेका छन् । आफ्नो जीवनका कथाहरुलाई समेट्न खोजिएको उक्त गीतको भिजिअल भने अश्लिल छ । 

आफू लागूऔषध प्रयोगकर्ता भएको स्वीकार गरेका हिपअपका जी–बब आइतबारदेखि ‘सम्पूर्ण समाज नेपाल सुधार गृहमा पुगेका छन् । 

कुलतमा डुबेका सुदीपलाई सुधार्न खोजेको प्रयासकाबीच उनलाई परिचालन गर्दै आएका संस्थाहरुको अवरोधकाबीच सुदीप, उनलाई राखिएको सुधारगृह र परिवारबीच सहमति जुटेको छ ।

जी–बबको इच्छाअनुसार नै उनलाई हाल समर्पण समाज नेपालको कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह राख्ने, केही समयका लागि उनले चाहेको समयमा आमाबुबालाई भेट गराउने व्यवस्था सुधार गृहले मिलाउने र कुनै कार्यक्रममा भाग लिनुपरेमा आमाबुबाको सहमति लिनुपर्ने भनी सोमवार काठमाडौं प्रहरी परिसरमा सहमति भएको छ । 

हिपअप क्षेत्रमा चर्चित र्यापर बालेन शाह यहि बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाकै मेयर बन्न सफल भइरहँदा सुदीप उर्फ जीबबको भविष्यप्रति पनि सबैको चासो देखिन्छ ।