Media Network

किसानका उत्पादन ढुवानीका लागि पोखराले सुरु गर्यो कृषि एम्बुलेन्स


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौँ। पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ ।

उक्त सेवा नि:शुल्क दिइने महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘पोखरामा ढुवानीको समस्या त होइन । तर, एकीकृत ढुवानी छैन । किसानले उत्पादन गरेका कृषि फसलहरु बोटमै कुहिएका छन् । बेच्न सकेका छैनन्,’ उनले भने, ‘नि:शुल्क कृषि एम्बुलेन्स चलाएपछि किसानले पैसा कमाउन सक्छन् । आवश्यक्ता अनुसार यसलाई बढाउँदै लैजान्छौं ।’

किसानले आफ्नो टोलमा भएका उत्पादनको विवरण वडा कार्यालयमा जानकारी गराएपछि एम्बुलेन्स पुग्छ । यसका लागि महानगरले अन्नपात एग्रोलाई साढे ७ लाख रुपैयाँ दिएको छ । ‘ठूलो उत्पादन हुने ठाउँमा आफैपनि किसानले बजार ल्याउन समस्या छैन । साना किसानले उत्पादन गरेका उपजहरुले बजार नपाउने अवस्था छ,’ कडरिया भन्छन्, ‘उहाँहरुले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ । त्यहाँ आवश्यकता अनुसार कृषि ढुवानी सेवा सञ्चालन हुन्छ ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद