लेखक संगीत स्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको लेखिका सरिता तिवारीले आरोप लगाएकी हुन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ भएर तिवारीले आफूमाथि यौन दुर्व्यवहार भएको विवरण सार्वजनिक गरेकी हुन् ।
संगीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार पहिलो पटक साहित्यपोस्ट अनलाइनले शुक्रबार राति प्रकाशित गरेको थियो । त्यसको प्रतिक्रियामा संगीतले शनिबार समाचारको खण्डन गर्दै कानुनी उपचार खोज्नेसमेत चेतावनी दिएका थिए । संगीतले लामो स्टाटस लेख्दै आफूले झुट्टा आरोप लगाएको बताएपछि सरिता फेसबुक लाइभमा आएकी थिइन् ।
तिवारीले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार गरेको दाबी गरेकी छन् । दुर्व्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको पनि उनको भनाइ छ ।
यो विषयमा केही समयअघि तिवारीले संगीत आबद्ध ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन् । थालनीका कार्यवाहक संयोजक प्रमोद धितालले शनिबार विज्ञप्ति जारी गर्दै गत असार ९ मा संस्थामा त्यस्तो उजुरी प्राप्त भएको पुष्टि गरेका छन् । त्यसअघि नै तिवारीले संस्थाका सदस्यहरूसँग मौखिक उजुरी दिएको पनि उनले उल्लेख गरेका छन् ।