Media Network

ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ ।

वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ । फोहोर व्यववस्थापन गर्न नसक्दा फोहोर गुम्सेर बनेको मिथेन ग्यास खतरनाक बनेको हो ।

ग्यास बाहिरिन पाइप (भेन्स) राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न र दुर्गन्धको मापन गर्न नास्टलाई आग्रह गरेपछि नास्टको वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पुगेको थियो । शनिबार अनुसन्धान गरेर फर्केको टोलीले सोमबार कामपालाई रिपोर्ट बुझाएको थियो ।

रिपोर्टअनुसार तत्काल ग्यास बाहिर जाने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै फोहोर विसर्जन गरेपछि सो फोहोरलाई माटोले पुर्नुपर्ने, फोहोरको लेदो (लिचेड) व्यवस्थित गर्नुपर्ने, फोहोर विसर्जन गर्नुअघि केमिकलले स्प्रे गर्नुपर्ने, मिथेन ग्यासको सम्भावित दुर्घटनाबाट जोगिन समुदायलाई सचेत गराउनुपर्ने लगायत सुझाव दिइएको छ ।

यसैबीच, कामपाले प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको छ । करिब २ सयको संख्यामा रहेका प्रहरीको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट र सवारी साधन आउने बाटोमा परिचालन गरिएको छ । प्रहरी वृत्त वालाजुका प्रहरी सहायक उपरीक्षक (डीएसपी) गौतम मिश्रको नेतृत्वको टोलीले आन्दोलनकारीलाई पक्राउ गरेको थियो ।पक्राउ गर्नेक्रममा दुईतर्फी झडप भएको थियो ।

घर–घरबाट प्रहरी टोलीलाई ताकेर ढुंगा हान्न थालेपछि प्रहरीले घर–घरमा पुगेर आन्दोलनकारीलाई पक्राउ गरेको थियो । स्थानीय जन प्रतिनिधिसँग सोमबार राती शहरी विकास मन्त्रालयलमा सहमति भएलगत्तै हिजो मंगलबार बिहानदेखि फोहोर बोकेको सवारी साधन ल्यान्डफिल साइटतर्फ गएको थियो । स्थानीयले बाटो बन्द गरी फोहोर बोकेका सवारी साधनलाई बाटैमा रोकेपछि सरकारले प्रहरी परिचालन गरेको हो । करिब एक महिना अघि पनि यसै गरी प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको थियो ।

सुरक्षाटोलीको घेरामा मंगलबार साँझ ५ बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो । प्रहरीले चारबजेदेखि तीनपिप्लेबाट फोहोरको गाडी फिर्ता पठाएको छ । तीन पिप्लेबाट ल्यान्डफिल साइटसम्म पुगेका सवारीलाई फोहोर खसाल्ने दिएको थियो । साँझ परेपछि आन्दोलनकारीले सवारी साधनमा तोडफोड गरी बाटो अवरोध गर्न सक्ने भन्दै प्रहरीको आग्रहमा साँझ साढे ५बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो ।

लगातार विरोध गरेपछि प्रहरीले आन्दोलन परिचालन समितिका संयोजक श्रीराम ढुंगानासहित करिब ३० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई नेपाल प्रहरीको टोलीले ल्यान्डफिल साइटस्थित शसस्त्र प्रहरी बलको क्यापमा लगेको थियो, नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद