पछिल्ला महिनामा मूल्यवृद्धिले नयाँ रेकर्ड बनाउँदै आएको र आउँदा महिनामा थप चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । गत फागुनमा राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले आगामी ३ महिनाभित्र मूल्य वृद्धिदर ८ र एक वर्षमा १० प्रतिशत पुग्न सक्ने अनुमान गरेको थियो । मूल्यवृद्धि चुनौतीकै रूपमा आएकाले नियन्त्रणका लागि पनि ब्याजदर बढाउनुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
प्रतिनिधिसभअन्तर्गत अर्थ समिति बैठकमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा अधिकारीले अब ब्याजदर बढाउनुको विकल्प नभएको जनाएका थिए । संसारभरका ठूला देशले पनि मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर वृद्धिको उपाय अवलम्बन गरिरहेकाले नेपालले पनि त्यही बाटो अपनाउनुपर्ने उनको भनाइ रहेको कान्तिपुर दैनिकले खबर छापेको छ ।