महिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड


खबरस्टोरी संवाददाता
२४ फाल्गुन २०७८, मंगलवार
महिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड

काठमाडौँ। महिलाको अधिकार सुनिश्चित गर्न घर परिवारबाटै शुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन् । ११२ औँ  अन्तराष्ट्रिय महिला दिवसका अवसरमा रोटरी क्लव ज्ञानेश्वरले मंगलबार आयोजना गरेको कार्यक्रममा डिस्ट्रिक गर्भनर जितेन्द्र वहादुर राजभण्डारीले महिला हिंसाको अन्त्य घरबाट नभएसम्म समाज परिवर्तन गर्न नसकिने बताएका हुन्  । 

महिला र पुरुषको समान सहभागिताबाट महिला अधिकारको सुनिश्चितता खोज्नुपर्नेमा भण्डारीले जोड दिए । हिंसाको जालो सर्वप्रथम घरबाटै तोड्नुपर्ने उनले बताए । महिला हिंसा अन्त्यका लागि रोटरी क्लव जस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भण्डारीको भनाई छ । राजभण्डारीले भने, ‘रोटरी क्लवमा आवद्ध भईसकेपछि यो महिला, यो पुरुष भन्ने हुँदैन । महिला अधिकार हुँदै सामाजिक परिवर्तनका मुद्धामा रोटरी क्लवमा अवद्ध भएर सकारात्मक परिवर्तनका लागि काम गर्न सकिन्छ । ’

कार्यक्रममा रोटरीका पास्ट डिस्ट्रिक गर्भनर चिन्तामणी भट्टराईले महिलाहिंसा विश्वव्यापी रुपमै तिव्ररुपमा बढिरहेको बताए । महिलालाई घरबाटै हिंसा शुरु हुने भन्दै विभेद विरुद्धको अभियान पनि पहिला घरबाटै शुरु गर्नुपर्ने उनले बताए । संसारभर रहेका रोटरी क्लवहरु मार्फत महिलाविरुद्ध हुने विभेद विरुद्ध अभियान चलाउनुपर्ने भट्टराईले बताए । महिलालाई सम्मान, महिलाको कामलाई सम्मान गर्न सकिए समग्र राष्ट्र र विश्व नै नमुनाबन्ने भट्टराईले बताए । 

यस्तै अधिकारकर्मी दिव्या गुरुङले समाजका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गरेर उनिहरुको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिए । महिला, र लैङिगक समावेशिताको मुद्धा निकै चुनौतीपुर्ण बन्दै गएको गुुरुङको भनाई छ । पछिल्लो समय जलवायु परिवर्तनको असर सवैभन्दा धेरै नेपालमा देखिन थालेको र महिलाहरु प्रभावित भईरहेको गुरुङले बताए । जलवायु परिवर्तन विरुद्ध साझा सहकार्य गर्न र रोटरीमा महिलाहरुको संख्या वृद्धि गर्न गुरुङले आग्रह गरे ।