बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।
नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।
बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो ।