Media Network

‘मामाघर बसेर हुर्केकी कृष्मी सदाका लागि अस्ताइन्’


सुष्मिता भण्डारी

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौँ । आइतबार विहान करिब ९ः५५ मा तारा एयरको ट्वीनअटर जहाज पोखराबाट जोमसोमका लागि उडेको थियो । विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु थिए । तीन सदस्यमध्येकी एक कृष्मी थापा विमानको एयर होस्टेज थिइन् । 

एयर होस्टेज कृष्मी फर्केर आउँछिन् कि भन्ने आशा पालेर पोखराको एयरपोर्टमा उनको साथीहरु गहभरी आँशु लिएर पर्खिरहेका थिए । तर कृष्मी सदाको लागि अस्ताइन् । 

आइतबार विहानदेखि हराएको बिमान सोमबार विहान सेनाले दुर्घटनाग्रस्त अवस्थामा विमान भेट्टाएको थियो । 

अन्तरजातीय परिवारमा हुर्केकी कृष्मी

स्याङ्जा चापाकोट घर भएकी कृष्मी अर्न्तजातीय परिवारमा हुर्किएकी हुन् । अन्र्तजातीय विवाह गरेका आमाबुवाको सम्बन्ध पनि राम्रो रहेन । पहिलो सन्तान नै छोरी जन्मिएपछि कृष्मा आमासहित घरबाट निकालिइन् । 

घरबाट निकालिएर मामाघर हजुरआमाको संरक्षणमा हुर्के बढेकी कृष्मीलाई दुःख कष्ट झेलेरै भए पनि शिक्षित बनाइन् । मामाघर बसेर हुर्केकी कृष्मीले आफ्नो पढाइसँगै परिवारका तीन जनालाई पढाउन सहयोग गरिरहेकी थिइन् । 

प्लस टु अध्ययन पूरा गरेपछि एयर होस्टेज बन्न भन्दै कृष्मी पोखरा आइन् । पोखरा आएकी कृष्मी पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन् । त्यस लगत्तै यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो । उनी त्यसमा पास भइन् । केहि समय  यति एयरलाइन्समा कम गरेपछि यति एयरलाइन्सले कृष्मीलाई तारा एयरमा पठाइदियो । विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन् । 

एयर होस्टेजको जागिर थालेदेखि कृष्मीले घरको सबै आर्थिक जिम्मेवारी पनि सम्हाल्दै आएकी थिइन् । हजुरअामाले थापेकाे पेन्सनबाट चलेकाे याे परिवारमा कृष्मी प्रिय थिइन् र संरक्षक पनि । बहिनी शर्मिला र दुइ भाइ पढाउने जिम्मा पनि कृष्मीकै थियाे । सधैँ हँसिली र फुर्तिली कृष्मीलाई त्यही एयर होस्टेजको जागिरले अन्त्य गरिदियो । 

शोकमा परिवारजन

छोरीको निधनको खबरपछि आमा मुर्छित अवस्थामा रहेकी छिन् भने साथीसँगीहरुले बिर्सिनै सकिरहेका छैनन् । 

‘हिजो राती पनि तिमीहरू राम्रोसँग पढ, राम्रो मान्छे बन्नुपर्छ, म छु, भन्नुभयो, तर आज उहाँ कहाँ हुनुहुन्छ ?’ विमानस्थलको प्रतीक्षालयमा रहेकी शर्मिलाले आँशु पुछ्दै भनिन् ।  

आफ्नोभन्दा अरूको खुशी चाहने कृष्मी अब कहिले नफर्किने गरी गएकी छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद