पाँच वर्षको कार्यकालमा उपत्यकाका जनप्रतिनिधिले गरेको कामको नालीबेली


अनुसा थापा
२९ चैत्र २०७८, मंगलवार
पाँच वर्षको कार्यकालमा उपत्यकाका जनप्रतिनिधिले गरेको कामको नालीबेली
काठमाडौँ। काठमाडौँका स्थानीयवासीले २०७४ सालको स्थानीय चुनावमा मतदान गरेर मेयरमा एमालेका विद्यासुन्दर शाक्यलाई विजयी बनाए । त्यसैगरी, कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गी आइन् । काठमाडौँ महानगरभित्रका विभिन्न वडामा थुप्रै पार्टीका वडाध्यक्षहरु आए । तर, सबै जनप्रतिनिधिहरु नालायक हुँदा आज काठमाडौँ फोहोरी बनेको छ । जताततै थुप्रिएका फोहोरले सर्वसाधारणको आँखा बिझाइसक्दा पनि यिनीहरु भने आँखा चिम्लेर बसेका छन् । एकचोटि मात्र नभई पटकपटक काठ्माडौं महानगर फोहोर व्यवस्थापन गर्न चुकेको छ । काठमाडौँका मुख्य चोकमा फोहोरको थुप्रो देखिन्छ । ठुल्ठुला व्यक्तित्व हिड्ने बाटोमा फोहोरै-फोहोर छ । असमर्थ जनप्रतिनिधिका कारण आज काठमाडौँ सबैभन्दा फोहोरी जिल्लाको रुपमा घोषणा भएको छ । 

त्यसैगरी, ललितपुर र भक्तपुरमा पनि फोहोर उठ्न छाडेको छ । यी तिन जिल्लामा यस्ता जनप्रतिनिधि छन् जसले पाँच वर्षको कार्यकालमा फोहोरसमेत व्यवस्थापन गर्न सकेनन् । कमिशनको पछाडि मात्र दौडिने जनप्रतिनिधिले आ-आफ्ना स्थानीयवासीको हकहितमा केही काम गरेनन् । अब आउने चुनावमा पार्टीले यिनीहरुलाई टिकट त देलान् । आफ्नो नातेदार र पैसावाललाई टिकट दिने प्रवृत्तिका कारण यिनीहरुले टिकट पाऊलान । तर, यिनीहरुले जनताबाट मत भने पाउदैनन् । जनप्रतिनिधिको बानी व्यवहार र  काम नगर्ने शैली देखेर जनताहरु आजित भइसकेका छन् । वास्तवमै भन्ने हो भने अहिले आएका उपत्यकामा भएको तिन जिल्लाका जनप्रतिनिधिहरु जनताबाट नाङगिसकेका छन् । 

जनप्रतिनिधिहरुले पैसा कमाउनका लागि केसम्म गरेनन् भन्ने कुरा सबैलाई ज्ञात छ । सरकारले बनाएको मापदण्ड नपुगेका घरलाई एकदेखि पन्ध्र लाख रुपैंया लिएर सम्पुर्णतताको प्रमाणपत्र दिइयो । सरकारले बनाएको नियम/कानुन कुल्चिएर हिड्ने यिनै मेयर, उपमेयर र वडाध्यक्ष हुन् । दलाली र सरकारी कर्मचारीले कागजपत्र मिलाएर व्यक्तिको नाममा लगेको सरकारी र गुठीको जग्गा फिर्ता ल्याउनमा उनीहरुले चासो दिएनन् । बरु, यसमा पनि बार्गेनिङ गर्ने काम भयो । जनप्रतिनिधिहरुले दलालीसंग मिलेर सरकारी र गुठीको जग्गा झ्वाम्म पारे । उपत्यकामा ६ सय ३४ वटा ढुंगेधारा थियो । त्यसैगरी, कुवा, पार्टीपौवा, चौतारा, मन्दिर पनि थुप्रै थिए । तर, यसको खोजतलास गरिएन् ।

पहिले ढुंगेधारा भएको ठाँउमा अहिले घर बनेको छ । भएका ढुंगेधाराहरु खोजतलास गरेर सञ्चालनमा ल्याउन र थप बनाउनतिर पनि उनीहरुको ध्यान गएन्  । जग्गा दलालसंग मिलेर खेतीयोग्य, उब्जनीयुक्त जमिन सबै प्लानिङ गरेका छन् । त्यसैगरी, डाँडाकाडामा डोजर लगाउन पनि यिनीहरुकै मिलोमतो छ । करारमा नियुक्ति गर्दापनि आफ्नैलाई घुसाउने काम भयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि आफ्नो नजिकका मान्छेलाई छिराएर कमिशन खनने काम जनप्रतिनिधिहरुले गरेको छन् । मर्मतसम्भार गर्ने काम पनि आफ्नै पार्टीका ठेकेदारलाई दिए । कमशल काम गरेर ठेकेदार र जनप्रतिनिधिहरुले बाँकी बजेट सबै हत्याए । 

उनीहरु आफै यात्रा गर्ने सरकारी गाडी किन्दा पनि कमशन खाने काम भएको पाइन्छ । यता, कार्यालयलाई आवश्यक पर्ने सरसामान खरिद गर्दापनि आर्थिक चलखेल भएको छ । वडाध्यक्ष, मेयरलगायत अन्यले तलबभत्ता पनि खाएका छन् । बाटो मिचेर बनाइएका घरहरुलाई नभत्काउने र एकदुई आनामा घर बनाउन नक्सा पास गरिदिने । घरधनीलाई मनलाग्दी भाडा लिन छुट दिने तर घरबहाल कर उठाउन नसक्ने । पाँच वर्षसम्म जनप्रतिनिधिहरुले एउटा सामान्य कोठा र सटरको भाडासमेत निर्धारण गर्न सकेनन् । दुई तलाको नक्सा पास गरेर पाँच तला घर ठड्याउनेलाई पनि कारबाही गर्न नसक्ने । न्युरोडमा प्रतिआना जग्गा ६६ लाख ५० हजार छ । तर, १० करोडमा बेचबिखन भइरहेको छ । 

तापनि जनप्रतिनिधहरुले राजस्व बढाउन सकेनन् । एउटा घरजग्गा गरेर तीन करोडदेखि अर्बसम्म लगानी गरेको हुन्छन् यसको राजस्व उठाउन पनि यिनीहरु असमर्थ देखिए । त्यस्तै, घरधनीले मासिक उठाउने घरभाडाको पनि उनीहरुले कर उठाउन सकेका छैनन् । घरहरुलाई घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्ने निर्णय गर्न पनि उनीहरुले नसकेको देखिन्छ । पछिल्लो समय अस्तव्यस्त रुपमा घरहरु बनेका छन् । कुनै मापदण्डबिना जथाभावी घर बनाउन दिइएको छ । कुनै एकतले कुनै पाँचतले । शहर नै अग्लो र होचो देखिएको छ । सबै घर एकैखाले बनाउनुपर्छ । जथाभावी घर बनाउन दियो भने शहर कुरुप देखिन्छ भनेर उनीहरुले सोचेनन् । जसले गर्दा उपत्यकामा विकासको नाममा घरहरु मात्र बने । उपत्यका थप घिनलाग्दो देखिएको छ । 

व्यापारीहरुले बिना दर्ता पसल सञ्चालन गरेको पाइन्छ । त्यसैगरी, दर्ता नै नगरी होर्टिङ बोर्ड झुण्डाएको छ । यहाँबाट पनि राज्य राजस्वविहिन बन्यो । महिलाको नाममा घरजग्गा पास गर्ने निर्णय गर्नु नै गलत भएको देखिन्छ । यहाँबाट राज्य राजस्वविहिन बनेको छ । भोलिको दिनमा केही कारणले घरपरिवार बिग्रियो भने अदालत छ । नारीलाई अदालतले सक्दो न्याय गर्छ । त्यसैले, महिलाकै नाममा घरजग्गा पास गरेपनि राजस्व छुट दिनुहुन्न । यता, फुटपाथमा भएका अव्यवस्थित पसलका कारण आम नागरिकलाई निकै अप्ठ्यारो परेको छ । हिड्नका लागि बनाइएका फुटपाथ व्यापार गर्ने स्थल बनेको छ । जनप्रतिनिधिहरुले न फुटपाथ पसल हटाउन सके न उनीहरुलाई व्यवस्थित गर्न । २०७६ सालमा नेपालमा कोरोना देखियो । गरिब जनताहरु भोकभोकै बस्न बाध्य भए । सरकारले गरिब जनताका लागि भनेर दिएको राहत पनि आफ्नै कार्यकर्तालाई दिने काम भयो ।

कोठामा बस्ने सर्वसाधारणलाई राहतविहिन बनाइयो । घरधनीको सिफारिस अनिवार्य गरिएकाले बहालमा बस्नेहरु भोकभोकै मरे । राहत दिने विषयमा पनि राजनिति छिराइयो । जनप्रतिनिधिहरुले एक लाखको सामान दिए तर तीन लाखको बिल बनाएर खाइदिए । कोरोना नियन्त्रणमा स्थानीय सरकार चुक्दा धेरै मानिसको ज्यान गयो । अक्सिजन र बेड नपाएर धेरैको अकालमा ज्यान गयो । 

आफ्नो वडा, नगर र महानगर कसरी व्यवस्थित गर्ने यसमा उनीहरुको ध्यान गएन् । आफ्नो क्षेत्रभित्र सयौ जेष्ठ नागरिक, अपांग, वालवालिका मागेर बसेको देख्दापनि यिनीहरुलाई अलिकति दया लागेन् । उनीहरुलाई गाँस, वास र कपासको कसरी व्यवस्था गर्ने ? कहाँ लगेर राख्ने भनेर जनप्रतिनिधिहरुले सोचेनन् । काठमाडौँको मेयर  विद्यासुन्दर शाक्यले पाँच वर्षको कार्यकालमा जनता ठग्ने सहकारीको साधारण सभा उद्घाटन गरे । सरकारले खारेज गरेको यातायात समितिको साधारण सभामा अतिथि भएर जाने पनि मेयर शाक्य नै हुन् । सरकारले कहिले के निर्णय गरेको छ त्यो थाहा नपाउने पनि मेयर हुदो रहेछन् भन्ने उदाहरण हाम्रै अगाडि छ । 

मिटरमा नहिडेर ट्याक्सीले यात्रु ठगिरहेका थिए । यता, विगत तीन वर्षदेखि उनीहरुले नया ट्याक्सीको दर्ता खोल्न पनि दिएका थिएनन् । यस्ता व्यवसायीलाई कारबाही गर्नुको साटो प्रमुख अतिथि बनेर भाषण दिन जानु कति निर्लज्ज कुरा हो । जनप्रतिनिधिहरुको असक्षमताको प्रमाणपत्र दिन जनताहरु खडा छन् । अबको चुनावमा जनताहरुले यिनीहरुलाई फेरिपनि भोट नदिने अडान लिइसकेका छन् । तर, मेयर, उपमेयर र वडाध्यक्षले राजनितिक पार्टीलाई चन्दा दिएर पुन टिकट लिने कोसिस जारी राखेका छन् । स्थानीय सरकार लापरवाह हुँदा मुलुक तहसनहस बन्न पुगेको छ । 

पदमा पुगेपछि भ्रष्ट्राचार गर्नेबाहेक केही काम भएको छैन् । २०७४ सालमा जनप्रतिनिधि बनेर आएका सबैको सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्नुपर्छ । मुलुकमा आर्थिक संकट आउनुमा यिनीहरुको पनि हात छ । घरबहाल कर उठाउन र खेतीयोग्य जमिन बचाउन सकेको भए अर्थतन्त्रलाई यत्रो धक्का लाग्दैनथ्यो । अब पनि पैसाको आडमा चुनाव जित्छु भन्नु गलत हो । हिजो भ्रष्ट्राचार गरेको पैसा खर्च गरेर चुनाव जित्छु र फेरि आएर भ्रष्ट्राचार गर्छु भन्ने सोच यिनीहरुमा देखिएको छ । तर, जनताले विगत पाँच वर्ष देखिसकेका छन् । अब जे गर्ने हो जनताको हातमा छ । उपत्यकालाई व्यवस्थित बनाउने हो भने यिनीहरुलाई फिर्ता ल्याउनुहुँदैन । फेरिपनि उही नै जनप्रतिनिधिहरु आए भने उपत्यकामा विकास होइन् विनाश हुने निश्चित छ।