Media Network

पहिरोले तीन राजमार्ग अवरुद्ध, झापामा एक सय घर डुबानमा


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले प्रमुख तीन राजमार्गमा यातायात अवरुद्ध भएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको छ । 

पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरुको आवागमन पनि मंगलबार विहान ६ बजेदेखि रोकिएको छ । पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीले जनाएको छ । 

यस्तै, रुपन्देहीसहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएको छ । 

यता, पूर्वी नवलपरासीको अरुणखोला दुम्कीबास सडक बगाउँदा पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । सोमबार रातिको बाढीले डाइभर्सन सडक बगाएका कारण अरुणखोलामा राजमार्ग बिहानबाट अबरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटर क्षेत्रमा सडक विस्तारको क्रममा करिब २ सय डाइभर्सन रहेको छ ।

यसैगरी, सोमवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

झापामा एक सय घर डुवानमा

सोमबार रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा कन्काई नदी पसेको छ । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ।

मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद