पोल भाडा नतिरे इन्टरनेट र केबल टीभीका लाइन काट्ने प्राधिकरणको चेतावनी


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
पोल भाडा नतिरे इन्टरनेट र केबल टीभीका लाइन काट्ने प्राधिकरणको चेतावनी
काठमाडौँ। विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइबर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई नेपाल विद्युत् प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले बुधबार सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई वैशाख मसान्तसम्म सबै भाडा भुक्तानी गर्न र नयाँ भाडा सम्झौता गर्न आग्रह गरेको हो ।

केही सेवाप्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवाप्रदायकहरूले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।

नयाँ भाडा सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम नगर्ने र सम्झौता नवीकरण नगर्ने सेवा प्रदायकहरुको लाइन काटिने प्राधिकरणले जनाएको छ । यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने पनि प्राधिकरणले बताएको छ।