प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम समापनका क्रममा पत्रकारिता तथा मिडिया क्षेत्रमा आचारसंहिताको उल्लङ्घन निकै बढेको देखिएका कारण तालिम व्यापक बनाएको बताए । ‘प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारलाई समेत पत्रकार आचारसंहिता अभिमुखीकरण अनिवार्य गरिएपछि आचारसंहिता उल्लङ्घनमा कमी आएको छ’ अध्यक्ष बस्नेतले भने।
नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले स्थानीय निर्वाचनअघि नै यो तालिम सञ्चालन गर्ने सोच रहे पनि सो सम्भव नभएपछि संघीय तथा प्रादेशिक चुनाव लक्षित तालिम गरिएको बताए । तालिममा पत्रकार आचारसंहिताका, काउन्सिलले जारी गरेको विभिन्न निर्देशिका, निर्वाचन आचारसंहिता, भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा छलफल चलाइएको थियो ।
तालिमका स्रोत व्यक्तिका रूपमा वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, कपिल काफ्ले, बबिता बस्नेत र बालकृष्ण बस्नेत रहेका थिए । प्रशिक्षकहरू झबिन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल रहेका थिए । तालिममा सहभागीलाई काउन्सिल र इन्ष्टिच्यूटको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ ।