संघर्षको १६ वर्षपछिको सफलताको कथाः अन्ततः बने इन्स्पेक्टर


खबरस्टोरी संवाददाता
२७ माघ २०८२, सोमबार
संघर्षको १६ वर्षपछिको सफलताको कथाः अन्ततः बने इन्स्पेक्टर

१६ वर्षअघि जवान बनेका उपेन्द्र अब प्रहरी इन्स्पेक्टर ! 

हरेक सफल मानिसको जीवनमा कुनै न कुनै सघंर्ष त हुन्छ नै । संघर्ष बिना मानिस सफल पनि हुँदैन । तर केही मानिसले सहज जिवनशैली बनाउन पनि निकै संघर्ष र त्याग गर्नुपरेको हुन्छ । यस्तै कथा ब्यथाबाट आफ्ना सपना साकार बनाएका एक ब्यक्ति हुन् उपेन्द्र तिमिल्सिना । जो, अहिले नेपाल प्रहरी निरीक्षकका रुपमा कार्यरत छन् ।  २०४७ साल जेठ महिनामा अछाम जिल्लाको साविक विनायक गाविस वडा नम्बर ७ मा जन्मिएका उपेन्द्रको कथा पनि छुट्टै छ ।

बाबुआमाको पहिलो सन्तानका रुपमा जन्मिएका उपेन्द्रको पेशाले शिक्षक थिए । मध्यम वर्गीय परिवारमा जन्मेका कारण पनि उपेन्द्र सहज रुपमा नै निरन्तरता दिन सक्ने पारिवारीक विरासतका कारण पढाई सरासर अगाडि बढाउदै गए । अनी उनले गाउँकै विध्या मन्दिर उच्च मावि, दीपशिखा, पशुपति एकेडेमी टिकापुर हुदै औपचारिक शिक्षाको प्रारम्भ थाले । गाउँकै विध्यालयहरुबाट अध्यायन थालेका उपेन्द्रको शिक्षा मध्यम खालकै रह्यो । माध्यमिक तहको शिक्षा पुरा गरिसकेपछि प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि वीरेन्द्र विद्या मन्दिर टीकापुर कैलालीमा भर्ना भए । प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरिसकेपछि काठमाडौको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्नातक तहको अध्यायन हँुदै त्रिभुवन विश्वविद्यालयबाट  राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका उपेन्द्र यसबेला सम्ममा प्रहरीमा भर्ती भइसकेका थिए । उनी प्रहरी जवानमा भर्ती हुँदा मात्र १८ वर्षका थिए ।  देशको सेवा भावले प्रहरीमा आकर्षित भई वि.स.२०६६ मा प्रहरी जवानमा आवेदन दिएका उनले पहिलो पटकमै सबै परीक्षा पास गरे । उपेन्द्रले २०६६ देखि २०७३ सम्म प्रहरी जवान भएरै सेवा गरे । यो अवधीमा उनले प्रहरी सहायक निरीक्षकको तयारी शुरु गरिसकेका थिए । प्रहरी जवानमा मात्रै बस्नुहुन्न, असई सम्म त बन्नुपर्छ भन्ने उनको मनमा खेलिरहन्थ्यो । र, विभिन्न सिनियरहरुसँग सल्लाह लिँदै गर्थे । यता जागीर ड्युटी त्यसपछि एकेडेमीक पढाई सँगसँगै उनले बचेको समयलाई सदुपयोग गरेर आफ्नो मेहेनतलाई निरन्तरता दिए । अनि, प्रहरी सहायक निरीक्षकको परीक्षा पास गरे । तालिम सकेर २०७४ मा उपेन्द्रले प्रहरी सहायक निरीक्षकको भूमिकामा रहेर काम गरे । प्रहरी सहायक निरिक्षकमा नाम निकालिसकेपछि उपेन्द्रले प्रहरी निरीक्षकको तयारी शुरु गरे । स्नातकोत्तर तहसम्मको अध्ययन गरिसकेका उपेन्द्रलाई योग्यता अनुसार तयारी गर्न प्रेरित गरिरह्यो । फेरि प्रहरी निरीक्षकको तयारीमा जुटे । आफै पढ्ने तथा अनलाइनबाटै पढाई गर्दै उनले २०७९ सालमा परीक्षा दिएर सफल पनि भए । तर वैकल्पिकमा परे । अन्ततः २०८१ सालमा दोस्रो पटकको प्रयासपछि सफलता हात पारी छाडे । यसबीचको उतारचढावमा उपेन्द्रले प्रहरीमा  रहेर देशको सेवा गर्न चाहनेहका लागि प्रहरी सहायक निरीक्षक (असई) तयारी पुस्तक, प्रश्नोत्तर लगायत त्यसका क्रमशः नयाँ अंकहरुसहितका पुस्तकहरु लेखन र प्रकाशित गरे । त्यसपछि उनले प्रहरी निरिक्षक(इन्सपेक्टर) का लागि तयारी पुस्तक प्रकाशन गरे । यतिबेला सम्म उनले प्रहरी तयारी सामाग्रीहरु प्रकाशन, अध्यापन, काउन्सिलिङ लगायत मोटिभेसनका कक्षाहरु पनि दिन थाले । लेखनमा पनि उनको विशेष रुचि बढ्दै गइरहेको थियो । र, प्रहरीको लाठीसँगै कलम पनि चलाउदै गए ।

उनले काठमाडौको प्रहरी पहरा गण सामाखुसी, जिल्ला प्रहरी परिसर काठमाडौ, प्रहरी मुख्यालय नक्सालमा रहेर काम गरे भने असईको भुमिकामा रहेपछि उनले देशका विभिन्न जिल्लाहरु डोल्पा, कपिलवस्तु, बैतडी, नवलपरासी,ललितपुर अनि लोकसेवा आयोग, महान्याधिवक्ताको कार्यालय, सर्वोच्च अदालत, विशेष अदालत,विभिन्न राजदूतावासहरु–इजÞराइल, जापानीज लगायतका रहेर आफ्नो कर्तव्य निभाए । २०८१ सालमा उपेन्द्रले नेपाल प्रहरीको निरीक्षक पदमा नाम निकालेर तालिम सकेपछि हाल जिल्ला प्रहरी कार्यालय बझाइमा  पोस्टिङ पाएका छन् ।

‘प्रहरी सहायक निरीक्षक र निरीक्षकको तयारीका बेला आफ्नो ड्युटी बाहेक कुनै कार्यक्रम, साथीभाई, आफन्त भेटघाटमा समेत समय दिइन’ उपेन्द्रले सुनाए “मलाई लोकसेवा प्रती पागलपन थियो, आफन्त, साथीभाइलाई नभेट्ने, फोन समेत नउठाएर तयारी गरे, खप्तड स्वामीको भनाई जस्तै ‘पूर्ण आत्मविश्वास र निरन्तर अभ्यासले मानिसलाई सफल बनाउँछ’ भन्ने भनाई लाई अगांल्दै म अघि बढेँ र, गरेको मेहेनत अनुसार फल प्राप्त गरेको जस्तो लाग्छ ।”

एउटा चट्टानको बीचबाट पिपलको बिरुवा उम्रिन सक्छ, त्यो चट्टान फुटाएर बिरुवा उम्रिन सक्छ भने हामीले पनि सघंर्ष गर्नै पर्छ भन्ने मेरो मान्यता हो ।– उनले भने । 

‘प्रहरी निरीक्षक बनेर धेरै ठुलो भए, धेरै तलव पाइन्छ भन्ने त छैन जे होस आत्मसन्तुष्टी भने छ’ उपेन्द्रले भने, ‘‘धेरै आम्दानी नभएपनि प्रहरी अफिसर भएर देशको सेवा गर्ने अवसर पाएको छु, हिजोआज समाजले मलाई हेर्ने नजर पनि परिवर्तन भएको छ, यही सबैभन्दा ठुलो खुशी हो ।” अहिले नेपालमा केही गर्नै सकिदैन भन्ने भाष्य बनाइएको छ । एक÷दुई प्रयासमा असफल हुँदा हरेस खानु हुँदैन । उपेन्द्र भन्छन् “कर्म हामीले गर्ने हो के, मेहेनत जति सक्दो गर्ने हो भने एक दिन अवश्य सफल भइन्छ ।

आफू ठूलो संघर्षका साथ प्रहरी जवान हुँदै इन्सपेक्टर बन्न सफल भएका उपेन्द्र आफैले प्रहरी सेवा प्रवेशका लागि पुस्तकहरु लेखेर अरुलाई पनि सफलताको बाटोमा हिड्न प्रेरित गरिरहेका छन् ।