१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नेको घुइँचो


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नेको घुइँचो
सिरहा। सिरहाको लहान नगरपालिका २२  मा  अवस्थित  धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ ।

प्रेम प्रतीकको रुपमा रहेको फूलबारीभित्र राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ ।


 सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने र तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने,जनविश्वास छ ।  भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार सोह्र शताब्दीको  लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए ।  


कोरोना संक्रमणका कारण गत वर्ष  १२ बिघा क्षेत्रफलमा  फैलिएको सलहेश  फुलबारी मेला नलागेकाले यस वर्ष विगतको तुलनामा मेला हेर्न आउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।