Media Network

यो वर्ष पनि बाढीपहिरोको उच्च जोखिम, औसतभन्दा बढी पानी पर्ने


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ । मौसमविदहरुले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आंकलनसहित उच्च जोखिमको सम्भावना औंल्याएका छन् । यसपाली मनसुन पनि एकसाताअघि नै भित्रिएको छ ।

गत वर्ष मनसुनी विपदका कारण ५ सय ८ जनाको मृत्यु हुनुका साथै ७७ जना बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मनसुनी विपदबाट गत वर्ष २०७८ सालमा ६ हजार १ सय ५५ घर परिवार प्रभावित भएका थिए ।

राष्ट्रसंघीय कार्यक्रम (यूएनडीपी) का विपद्विज्ञ डिवेन्द्रराज बाँस्कोटाले यस वर्षको मनसुनी विपद्बाट करिब १७ लाख सर्वसाधारण प्रभावित हुने भन्दै पूर्व तयारीमा लाग्न सुझाएका छन् । आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार यो वर्ष विपद्का २ सय १४ वटा घटना भइसकेका छन् । विपदमा परेर २५ दिनमा ३१ जनाको मृत्यु भएको छ । 

यो वर्षको सुरुवाती मनसुन प्रदेश १ मा रहे पनि स्थानीय प्रभाव र भारतको उत्तर प्रदेश र विहारमा देखिएको न्यूनचापीय प्रणालीका कारण वाग्मती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन् । 

पछिल्लो २४ घण्टामा मुलुकका १८४ वटा वर्षा मापन केन्द्र (स्वचालित ११६ र मानव सञ्चालित ६८) मध्ये ९१ वटा केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुन विस्तारै प्रदेश १ बाट पश्चिमतिर सर्दै गएको जल तथा मौसम विभागले जनाएको छ । 

यो वर्षको मनसुन अवधिमा मधेस र वाग्मतीको दक्षिणी भेगमा औसत वर्षा भए पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । 

गत वर्ष मनसुन सुरु हुनासाथ आएको सिन्धुपाल्चोकको मेलम्ची, मनाङको चामे र तालगाउँ, गोरखाको मनास्लु र मुस्ताङ क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद