आईजी मुद्दाः विहीबारसम्म जवाफी बहस, २६ गते अन्तिम सुनुवाई


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
आईजी मुद्दाः विहीबारसम्म जवाफी बहस, २६ गते अन्तिम सुनुवाई
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा जुनियर एआईजीलाई आईजीपी बनाएको विरोधमा दायर गरेको रिटमा जवाफी बहस नसकिएकोले आइतबार पनि हेर्दा हेर्दैमा राखिएको हो । 

जवाफी बहस असार २३ गतेसम्म जारी रहने भएको छ । यहि असार २६ गते मुद्दाको पेशी तोकिएको छ । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिएपछि मुद्दाको फैसला हुनेछ ।

आइतबारको बहसमा अधिवक्ता सुशीलसिंह पन्तले सून्यबोध ब्यक्ति महानिरीक्षक पदका लागि योग्य हुन नसक्ने तर्क गरेका थिए ।                    

इजलासमा बोल्दै अधिवक्ता पन्तले एआईजी विश्वराज पोखरेल गैरजिम्मेवार रहेको आरोप लगाए । 

मानवस्रोत विभागको प्रमुखमा रहदा प्रहरी अधिकारीलाई बिदामा बस्न नमिल्ने परिपत्र जारी गरेका पोखरेल आफै ३० दिन घरबिदामा बसेको अधिवक्ता पन्तले तर्क गरे । अहिले पनि बिदा स्वीकृत नभएको अवस्थामा फोर्स लिभमा गैर जिम्मेवार तरिकाले बिदामा बसिरहेको पन्तले बहसमा भने । 

हाल बर्खाको सिजन र देशभरको अवस्थालाई हेरेर प्रदेश समन्वयको जिम्मेवारीमा रहेको पोखरेल यस्तो बिषम परिस्थितिमा पनि बिदामा बस्ने व्यक्ति संगठनको प्रमुख पदमा बस्न योग्य नहुने अधिवक्ता पन्तको तर्क थियो । 

आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना अधिवक्ताहरूले बहस गरेका छन् ।