Media Network

आईजी नियुक्ति विवाद : असार २६ को पेशी अनिश्चित कालका लागि सर्यो


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेको भन्दै सर्वोच्च पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दामा असार २६ गतेका लागि तोकिएको पेशी अनिश्चित बनेको छ ।

सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इदको अवसरमा असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सो दिनका लागि तोकिएको अन्तिम सुनुवाइ नहुने भएको हो। 

सार्वजनिक बिदामा अदालतसमेत बन्द हुने भएपछि २६ गते आईजी धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई पछि सरेको हो। 

अब उक्त मुद्दाको अन्तिम सुनुवाइ कहिले हुन्छ भन्ने निश्चित छैन। लगातार चारपटक हेर्दाहेर्दैमा रहेको मुद्दाको विपक्षी बनाइएका आईजी धिरजप्रताप सिंहका तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि असार २६ मा पोखरेलका तर्फबाट कानुन व्यवसायीहरुले जवाफी बहस दिने र सोही दिन सुनुवाइ सक्ने भनिएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो। इजलासले असार २३ भित्रमा बहस नोट बुझाइसक्न पनि भनेको थियो। 

पोखरेलले वैशाख १९ गतेदेखि एक महिना लामो बिदा लिएका थिए। बिदा सकिएपछि पुनः बिदाका लागि उनले प्रहरी महानिरीक्षक समक्ष निवेदन पेस गरे पनि आईजीले भने बिदा अस्वीकृत गरिदिएका थिए। उनी पछिल्लो बिदा अस्वीकृत हुँदा पनि उनी कार्यालयमा गैरहाजिर छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद