आईजीपी खनालले एआईजी पुष्पराम केसीलाई जिम्मेवारी बुझाए


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
आईजीपी खनालले एआईजी पुष्पराम केसीलाई जिम्मेवारी बुझाए
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका छन्। 

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरे।

सम्बोधनको क्रममा महानिरीक्षक खनालले संगठन यस स्थानमा आई पुग्नुमा संगठनका पूर्वज नेतृत्व, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पुर्याएको योगदानको स्मरण गरे। महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्डगर्मी रहेका ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिएर नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपत् विपत पीडित नागरिकको उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा नेपाल एपीएफ अस्पताल मार्फत प्रदर्शन गरेको सेवा तथा समर्पणभावको समेत नेपाल सरकार तथा विभिन्न निकायबाट प्रशंसा भईरहेको उल्लेख गरे ।

समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स–सम्मान विदाई भएकोमा हार्दिक बधाई दिए। उनको अवकाशपछिको जीवन सुखमय बितोस् भन्ने शुभेच्छा रहेको केसीले बताए। सशस्त्र प्रहरीमा सोमबारदेखि आईजीपी रिक्त भएपनि सरकारले आईजीपी नियुक्त गरेको छैन। अब एआईजी केसी र पौडेल मध्य एकजनालाई आईजीपी नियुक्त गर्नुपर्नेछ।