आईजीपी मुद्दाको बहस सकियोः विश्वराज आईजीपी कि बिदाई ?


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
आईजीपी मुद्दाको बहस सकियोः विश्वराज आईजीपी कि बिदाई ?
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको बहस सकिएको छ । शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै सम्पूर्ण सुनुवाइ प्रक्रिया नै सकिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भएको हो । कार्की र चुडालको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा शुक्रबार निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ताहरु शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहाल, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

एआईजी पोखरेल पक्षको जवाफी बहस सकिएसँगै शुक्रबार नै यो मुद्दाको फैसला आउने बताइएको छ । 

सरकारले धीरजप्रताव सिंहलाई आईजीपी नियुक्त गरेपछि आफू भन्दा कनिष्ट एआईजीलाई प्रहरी महानिरीक्षक बढुवा गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सरकारकै निर्णय सदर गरेमा पोखरोलको आईजीपी बन्ने सम्भावना समाप्त हुनेछ । 

यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो । सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई  र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए ।

सर्वोच्चको फैसलालाई निकै चासोका साथ हेरिएको छ । यो फैसलापछि एआईजी पोखरेल बढुवा हुने वा घर फर्किनुपर्ने अवस्था आउने छ । पोेखरेलको पक्षमा फैसला नआएमा उनी राजीनामा दिएर घर फर्किने बताइएको छ । यद्यपि आईजीपी सिंह भने आफ्नो पक्षमा फैसला हुनेमा ढुक्क छन् ।