धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको हो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो।
सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयले आफूलाई अन्याय भएको दाबी गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा यसअघि वैशाख २२ गते न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो। तर, मंगलबार सर्वोच्च प्रशासनले डीआईजीबाट ३ जनालाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध ३ जना डीआईजी (हाल अवकाशप्राप्त)ले दायर गरेको रिटलाई पनि लगाउमा राखेर पेसी सूची प्रकाशन गरेको थियो।
एआईजी पोखरेल र डीआईजीहरु (अवकाशप्राप्त) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश जंग कार्कीले दायर गरेको रिटमाथि संयुक्त सुनुवाइका लागि मंगलबार श्रेष्ठ र चुडालको इजलासमा पेसी तोकिएको थियो। तर, ३ जना डीआईजीको रिटमा विपक्षी बनाइएकाको हकमा म्याद नै तामेली नभएको भन्दै उनीहरुको रिटको सुनुवाइ मिती सारेको हो।
३ जना डीआईजीले दायर गरेको रिटमा विपक्षी बनाइएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकको हकमा म्याद तामेल हुन नसकेको सर्वोच्चको आदेशमा उल्लेख छ।