आईजीपी नियुक्ति विवाद: फेरि बहस लम्बियो, शुक्रबारलाई सुनुवाई सर्यो


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
आईजीपी नियुक्ति विवाद: फेरि बहस लम्बियो, शुक्रबारलाई सुनुवाई सर्यो
काठमाडौँ। सरकारी वकिल पक्ष सोमबार बहसका लागि तयार नभएपछि अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आईजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथि सोमबार बहस हुन सकेन।

यसअघि आइतवार (२६ असार) का लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण रोकिएको थियो। त्यसपछि सोमबारका लागि सुनुवाइ तोकिए पनि असार मसान्तसम्म सारिएको हो। शुक्रबार छिनोफानो नभए शनिबार सार्वजनिक बिदा त्यसपछि अन्तिम सुनवाईका लागी अन्तत साउन महिना कुर्नुपर्ने हुनसक्छ। साउन २० मा पोखरेलले अकाश पाउदै छन्।

अहिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ।

आईजीपी सिंहको पक्षमा वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिडारी, तुलसी भट्ट, दिपेन्द्र झाले बहस गरेका हुन्। 

त्यसैगरी अधिवक्ताहरू केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपाल कृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारीले पनि बहस गरेका थिए।

यसअघि असार २३ गतेभित्र बहस नोट बुझाउन इजलासले भनेको थियो। त्यसपछि असार २६ गते जवाफी बहस हुने तयारी थियो। तर असार २६ मा सार्वजनिक बिदा भयो। 

त्यसको साटो सोमबारलाई पेशी तोकिएको थियो। तर सोमबार पनि बहस हुन नसकेपछि यो मुद्दा असारको अन्तिम दिन अर्थात् ३१ गतेलाई सारिएको छ।