आईजीपी नियुक्ती विवाद : रिट निवेदकका तर्फबाट जवाफी बहस जारी


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
आईजीपी नियुक्ती विवाद : रिट निवेदकका तर्फबाट जवाफी बहस जारी
काठमाडौं । प्रहरीको आईजीपी नियुक्ती विवाद मुद्दामा रिट निवेदकका तर्फबाट सर्वोच्चमा जवाफ सुरु भएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ।  शुक्रबार रिट निवेदक विश्वराज पोखरेलको तर्फबाट बहस सुरु भएको हो। जवाफी बहस सकिएपछि सर्वोच्चले शुक्रबार नै फैसला सुनाउन सक्नेछ। 

केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ। आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले उनलाई छोडेर धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।

यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई  र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।