आईजीपी विवाद : विश्वराजको रिट १० नं इजलासमा, केहिबेरमै बहस सुरु हुँदै


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
आईजीपी विवाद : विश्वराजको रिट १० नं इजलासमा, केहिबेरमै बहस सुरु हुँदै
काठमाडौँ।  प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ । 

इजलास नम्बर १० को ४ नम्बर पेशीमा रहेको उक्त रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ । पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । 

रिटमा उनले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर तत्काल आईजीपी नियुक्त गर्न माग गरेका छन्। 

सिंहलाई बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदमा रहेर काम गर्न नदिन पनि पोखरेलको माग छ ।