अछाम घटनाः प्रहरीले जाहेरी लिएपछि मृतक परिवारले बुझ्यो शव


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
अछाम घटनाः प्रहरीले जाहेरी लिएपछि मृतक परिवारले बुझ्यो शव
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १५ वर्षीय किशोर विनोद शाहीको परिवारले शव बुझेको छ ।

जेठ १७ गते रातिदेखि बेपत्ता शाही ६ दिनअघि घर नजिकैको स्थानीय जंगलमा मृत अवस्थामा फेला परेका थिए । परिवारले हुलाकमार्फत १३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि शव फेला परेको ६ दिनपछि  बिहीबार आफन्तले शव बुझेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले मृतकका परिवारले शव बुझेको जानकारी दिए । ‘परीक्षणपछि मृतकका आफन्तले शव बुझ्नुभएको छ,’ एसएसपी रावलले भने, उनीहरुले ‘हुलाकमार्फत पठाएको किटानी जाहेरी पनि दर्ता भइसकेको छ ।’ जिल्ला प्रहरी कार्यालय अछामले क–कसकाविरुद्ध किटानी जाहेरी परेको छ भन्ने कुरा गोप्य राखेको छ ।

प्रहरी स्रोतकाअनुसार पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पूर्ववडाध्यक्ष सज्जनबहादुर शाही, स्थानीय महेन्द्र शाही, देवेन्द्र शाही, शान्ति शाही, रामबहादुर शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।