Media Network

अख्तियारद्धारा भ्रष्टाचारको आरोप लागेका चार जनप्रतिनिधिलाई निलम्बनको सिफारिस


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई निलम्बन गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्राललाई आग्रह गरेको छ। आयोगले मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकोले उनीहरुलाई निलम्बन गर्न आग्रह गरेको हो। 

यसरी कसुर ठहर अथवा आरोप लागेर मुद्दा विचाराधिन रहेका जनप्रतिनिधिहरुमा कैलाली जिल्ला, मोहन्याल गाउँपालिका, वडा नं २ मा निर्वाचित देवीदत्त उपाध्याय, वडा नम्बर ३ मा वडाध्यक्ष नन्दराम गिरी, नुवाकोटको बिदुर नगरपालिका, वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पंचदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल रहेका छन्। 

उपाध्यायले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेकोमा आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ को कसुरमा  २०७९ वैशाख २ गते विशेष अदालतमा आरोपपत्र दायर भएको थियो।  

त्यसैगरी नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ को कसुरमा २०७९ वैशाख २ गते विशेष अदालतमा आरोपपत्र दायर भएको थियो। त्यस्तै हरिराम बिदुर–९ मा रहेको सुलक्षण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हुँदा विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। 

अछामका रावलले पंचदेवल विनायक– ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेको भन्दै २०७६ वैशाख ५ मा मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद