Media Network

अमेरिकी डलर भन्दै कागजको पोको दिएर ठगी गर्ने १ जना पक्राउ


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौं । एक व्यक्तिलाई अमेरिकी डलर भन्दै कागजको पोको दिएर ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट १ जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका– ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ छन्। 

प्रहरीका अनुसार गत जेठ १७ गते सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ४ घर भइ ललितपुरको नख्खु बस्ने ६२ वर्षका एक पुरुषलाई कलंकीको सीता पेट्रोल पम्पनजिक एक व्यक्तिले डलर साट्ने भन्दै प्लास्टिकको थैलीमा अमेरिकी डलर जस्तो देखिने बण्डल दिएका थिए। 

आफ्नी आमा गम्भीर बिरामी परेको र उपचारका लागि पैसाको खाँचो परेकाले आफूसँग अमेरिकी डलर मात्रै भएको भन्दै ती व्यक्तिले ६२ वर्षीय पुरुषसँग ८ लाख रुपैयाँ लिएर डलरजस्तो देखिने कागजको बण्डल दिएका थिए। 

उक्त डलर खोलेर हेर्दा डलर भनिएको बण्डलमा कागज मात्रै देखिएपछि पीडित पुरुषले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले गरेको अनुसन्धानका क्रममा अमेरिकी डलर भनेर कागजको पोको दिएर फरार भएका व्यक्ति कुमार श्रेष्ठ भएको खुलेको थियो। 

घटना भएको ३ सातादेखि फरार रहेका कुमारलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले असार ३ गते काठमाडौंको कलंकीबाट नै पक्राउ गरेको हो। 

घटनाको सम्बन्धमा निज कुमार श्रेष्‍ठउपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-७ को म्याद थप अनुमति प्राप्‍त भई प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भई रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद