अस्पतालहरुको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्दा, दुईजना पक्राउ


खबरस्टोरी संवाददाता
२७ माघ २०७८, बिहीबार
अस्पतालहरुको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्दा, दुईजना पक्राउ

काठमाडौँ।  नेपालबाट विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य रहेको छ । यात्रुसँगसँगै संक्रमणले पनि यात्रा नगरोस् र नेपालबाट गएका मानिसका कारण अन्यत्र संक्रमण नफैलियोस् भनेर यो नियम लागु गरिएको हो ।  तर, नियम बाहिर रहेर व्यवस्थाको नै मजाक उडाउँदै धेरैले पीसीआर रिपोर्ट नै नक्कली बनाउने गरेको पाइएको छ ।

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा केहि दिन अघि मात्र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

स्वयम् अस्पतालका कर्मचारीहरूको संलग्नतामै यसरी नक्कली रिपोर्ट बनाउने धन्धा चलिरहेको तथ्य एक पछि अर्को गर्दै  खुल्दै गएको छ । काठमाडौँपछि चितवनमा पनि कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पीसीआर बनाउने दुईजनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने चौबीसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका-६ बस्ने प्रकाश न्यौपानेलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।

देव हस्पिटलमा २५ माघमा एउटा अपरेसन गर्नुपर्ने विरामीको पीसीआर नक्कली भेटिएपछि यस्तो धन्धाको विषय बाहिर आएको हो । ‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाहिँ नक्कली पीसीआर बनाएर दिएको देखिएको छ । त्यही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, उनले भनिन् ।

अपरेसन गर्नुअघि चिकित्सकले पीसीआर गर्न भनेर एउटा चिट दिए । उनीहरू दुईजना मिलेर आफूखुसी रिपोर्ट बनाएर दिने गरेको पाइएको छ । नक्कली पीसीआर बनाउने स्थानको पनि पहिचान भइनसकेको उनले बताइन् । रत्ननगरका न्यौपानेले कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको पाइएको छ ।

‘त्यसपछि उनले त्यहाँ काम छाडेको र विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरू ल्याएर परीक्षण गर्ने र नक्कली पीसीआर बनाउने गरेको भन्ने बुझेका छौँ’, उनले भनिन् । उनीहरूको साथबाट अरु नक्कली पीसीआर भने फेला नपरेको उनको भनाइ छ । नक्कली पीसीआर बनाउने काममा देव हस्पिटलकै संलग्नता रहे/नरहेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिइन् ।