Media Network

अस्पतालहरुको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्दा, दुईजना पक्राउ


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौँ।  नेपालबाट विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य रहेको छ । यात्रुसँगसँगै संक्रमणले पनि यात्रा नगरोस् र नेपालबाट गएका मानिसका कारण अन्यत्र संक्रमण नफैलियोस् भनेर यो नियम लागु गरिएको हो ।  तर, नियम बाहिर रहेर व्यवस्थाको नै मजाक उडाउँदै धेरैले पीसीआर रिपोर्ट नै नक्कली बनाउने गरेको पाइएको छ ।

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा केहि दिन अघि मात्र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

स्वयम् अस्पतालका कर्मचारीहरूको संलग्नतामै यसरी नक्कली रिपोर्ट बनाउने धन्धा चलिरहेको तथ्य एक पछि अर्को गर्दै  खुल्दै गएको छ । काठमाडौँपछि चितवनमा पनि कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पीसीआर बनाउने दुईजनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने चौबीसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका-६ बस्ने प्रकाश न्यौपानेलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।

देव हस्पिटलमा २५ माघमा एउटा अपरेसन गर्नुपर्ने विरामीको पीसीआर नक्कली भेटिएपछि यस्तो धन्धाको विषय बाहिर आएको हो । ‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाहिँ नक्कली पीसीआर बनाएर दिएको देखिएको छ । त्यही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, उनले भनिन् ।

अपरेसन गर्नुअघि चिकित्सकले पीसीआर गर्न भनेर एउटा चिट दिए । उनीहरू दुईजना मिलेर आफूखुसी रिपोर्ट बनाएर दिने गरेको पाइएको छ । नक्कली पीसीआर बनाउने स्थानको पनि पहिचान भइनसकेको उनले बताइन् । रत्ननगरका न्यौपानेले कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको पाइएको छ ।

‘त्यसपछि उनले त्यहाँ काम छाडेको र विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरू ल्याएर परीक्षण गर्ने र नक्कली पीसीआर बनाउने गरेको भन्ने बुझेका छौँ’, उनले भनिन् । उनीहरूको साथबाट अरु नक्कली पीसीआर भने फेला नपरेको उनको भनाइ छ । नक्कली पीसीआर बनाउने काममा देव हस्पिटलकै संलग्नता रहे/नरहेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद