काठमाडौं । लागुऔषधको विषयमा विवाद हुँदा एक युवकको हत्या भएको छ। बुढानीलकण्ठ-५, थाकथोकमा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् । प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो ।
मजदुरी गर्दै आएका राउतको हत्याको कारण भने लागुऔषध रहेको प्रहरीले जनाएको छ। लागूऔषध ल्याइदिन्छु भनेर पैसा लगेर पनि नल्याइदिएपछि राउतको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै प्रहरी परिसरका अनुसार राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।