बलात्कारका आरोपित मनोज पाण्डेविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा दायर


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
बलात्कारका आरोपित मनोज पाण्डेविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा दायर
काठमाडौ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको हो ।

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । 

मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी गरिएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजक पाण्डेले होटलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेकी थिइन् । त्यसपछि अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।