Media Network

चैतमा आईजीपी बन्न अहिलेदेखि नै दौडधुप


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा बढुवा सिफारिस गरेको थियो। 

एसएसपीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई डीआइजीमा बढुवा सिफारिस गरिएको थियो।

सिफारिस अनुसार डीआइजीमा बढुवा भएका १७ जनाले नै आइतबार डिआइजीको दर्ज्यानी चिह्न (फुली) लगाए। उनीहरूलाई प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरी डिआइजीको जिम्मेवारी प्रदान गरे। नेपाल प्रहरीले यिनै १७ जनामध्येबाट आठ महिनापछि नयाँ आइजीपी बन्ने सम्भावना बलियो छ।  

महानिरीक्षक सिंहको कार्यकाल अर्को कुनै आश्चर्य नभए चैतको दोस्रो साता सकिन्छ । नेपाल प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारीको अधिकतम सेवा अवधि ३० वर्ष छ भने उमेर हद ५६ वर्ष । सेवा अवधिका कारण महानिरीक्षक सिंह चैत दोस्रो साता अवकाशमा जाँदैछन् । उनी २०४९ चैत १२ गते सेवा प्रवेश गरेका थिए ।

उनी चैतसम्म नै आइजीपी रहने/नरहने प्रश्नको उत्तर सर्वोच्च अदालतको हातमा पनि निर्भर छ। उनको नियुक्तिविरुद्ध अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन्। मुद्दा विचाराधीन छ। मुद्दाको फैसला आइजीपी सिंहको पक्ष वा विपक्षमा जेसुकै आए पनि अहिले डीआइजीमा बढुवा भएका १७ जनामध्येबाटै चैत दोस्रो सातापछि नयाँ आइजीपी हुने सम्भावना बलियो छ, आजको नागरिक दैनिकले खबर छापेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद