बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर बस्ने १६ वर्षीय धमेन्द्र यादवको माटोको ढिस्कोले पुरिएर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित भे.१ त ६२६५ नम्बरको ट्याक्टरमा माटो लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरी चौकी गनापुर र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच, बाँकेकै बैजनाथ गाउँपालिका–१ आरक्ष टोलस्थित सडकमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
भे.१ क १६९२ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा खड्काको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७ स्थित मानेश्वरी खोलाको किनारमा सल्यान शारदा नगरपालिका–१३ घर भएका ३५ वर्षीय तोभान राना मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, सिन्धुली, फिक्कल गाउँपालिका–६ तिनखण्डेस्थित सुनकोसी नदीको किनारमा पनि एक पुरुष मृत भेटिएका छन् । नाम, थर, वतन, नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रधान कार्यालयको बुलेटिनमा उल्लेख छ ।