एआईजी पोखरेलद्धारा माग गरिएको दोस्रो बिदा पनि आईजीपी सिंहले गरे अस्वीकार


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
एआईजी पोखरेलद्धारा माग गरिएको दोस्रो बिदा पनि आईजीपी सिंहले गरे अस्वीकार
काठमाडौं। विवादित बनेको आईजीपी प्रकरणमा आफुभन्दा जुनियरलाई सरकारले नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका एआईजी विश्वराज पोखरेलले पठाएको दोस्रो बिदा पनि अस्वीकृत भएको छ।

एआईजी पोखरेलले सोमबार ११ दिन बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाए पनि आईजीपी धिरज प्रताप सिंहले अस्वीकृत गरेका हुन्। यसअघि जेठ २५ गते आईजीपी सिंहले पोखरेलले पठाएको १० दिनको बिदा पनि अस्वीकृत गरेका थिए।पोखरेल वैशाख १९ गतेदेखि बिदामा रहेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले अवस्थालाई मध्यनजर गरेर बिदा पाउनुपर्ने उनको माग छ ।

जेठ २५ गतेसम्मको बिदा स्वीकृत भए पनि त्यसपछि पोखरेलले बिदाका लागि पठाएको निवेदन दुई पटक अस्वीकृत भएको हो। प्रहरी प्रधान कार्यालयले तत्काल हाजिर हुन एआईजी पोखरेललाई निर्देशन दिएको छ।

मुद्धामा गत जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको पेशी तोकिएको थियो।तत्कालीन डिआइजीहरूको मुद्दामा पोखरेलको मुद्दा लगाउमा राखिएपछि त्यस दिन अन्तिम सुनुवाइ हुन सकेको थिएन।

जेठ ३० गतेदेखि सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।हेर्दाहेर्दैको आगामी पेशी असार १३ गतेका लागि तोकिएको छ।