गाउँपालिका उपप्रमुख र प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
गाउँपालिका उपप्रमुख र प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाकी उपप्रमुख र प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध आरोप–पत्र दायर गरेको छ ।

अख्तियारले आइतबार सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका, वडा नं. ४ को अधुरो वडा कार्यालय भवन निर्माणमा भए गरेको कार्यभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेश गर्ने उपभोक्ता समिति, प्राविधिक कर्मचारी तथा अनुगमन गर्ने एवं भुक्तानी प्रक्रियामा संलग्न विरुद्ध आरोप पत्र दायर गरेको हो ।उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को देहाय (ग) र (ङ) तथा बदनियत पूर्वक भए गरेको कार्य लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्य सम्पन्न अनुगमन प्रतिवेदन सिफारिस गरेकोले ऐ.ऐनको दफा १९(२) बमोजिमसमेत कसुर गरेबाट नेपाल सरकारलाई दश लाख पाँच हजार चार सय सन्तानब्बे रुपैयाँ उनन्चालीस पैसा हानी नोक्सानी भएकोमा उक्त रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) तथा ऐ.ऐन को दफा १९(२) बमोजिम सजाय हुन माग दाबी लिइएको अख्तियारले जनाएको छ ।