Media Network

हाइप्रोफाइललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८२,बिहीबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।

काभ्रे घर भएका पाठक विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको हो । भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका थिए ।

आफूलाई उग्रबादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमान सिंह कार्की, गोपालबहादुर खड्का ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरीलाई धम्की दिएका थिए ।

यस्तै, राजनीतिक दलका नेताहरु रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईँलाई पनि उनले ज्यान मार्ने धम्की दिएका थिए ।

विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस जारी गरेपछि आरोपीको लोकेसन पत्ता लगाउन इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनले सहकार्य गर्छन् ।  

मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 

प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार छन् । उनीहरुलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद