सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु यौनाङ्गको भित्री भाग च्यातिँदा अत्यधिक रक्तश्रावबाट भएको पुष्टि भएको छ ।
विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा मृत्युको प्रारम्भिक कारणबारे उल्लेख गरिएको हो ।
इनिशाको शवको पोस्टमार्टम गरेका भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्बिन शाक्यले उनको ढाडमा घस्रिएको चोटपटक देखिएको खुलाएका छन् । त्यसैगरी उनको यौनाङ्गको बाहिरी तथा भित्री भाग च्यातिएको अवस्था पाइएको पनि उनले जानकारी दिएका छन् ।
बिहीबार मात्रै यो घटनाबारे अनुसन्धानका लागि केन्द्री अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुर्खेत पुगेर अनुसन्धान थालेको छ ।
सीआईबीको टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग मिलेर काम थालेको हो । जिप्रका सुर्खेतको टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरिसकेको छ । अब सीआईबीले पनि सघाउने छ । सीआईबीबाट प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको अनुसन्धान विज्ञ टोली पुगेको छ । बिहीबार वीरेन्द्रनगर पुगेको टोलीले जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतसँग मिलेर काम थालेको छ ।
इनिशाको हत्यामा संलग्नहरूमाथि कारबाही माग गर्दै काठमाडौंसहित देशका विभिन्न जिल्लामा प्रदर्शन भएको छ । घटनामा संलग्न भएको आरोपमा एक किशोर पक्राउ परेका छन् । उनले सहमतिमै करणी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।