तनहुँ अदालतले बिहीबार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । बेरितको आदेश बदर गरी पाउँ भन्दै पल उच्च अदालत जान लागेका हुन् । पलका वकिलहरूले सोमबारसम्म उच्च अदालत पोखरामा पुनरावेदनका लागि निवेदन दर्ता गर्ने तयारी गरेका छन् । पललाई तारेखमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरूले उच्च अदालत जाने तयारी गरेका छन् ।
फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गरिपाउँ भनी सम्बन्धित जिल्लाको हाईकोर्ट अर्थात उच्च अदालतमा शाहले निवेदन दिन लागेका हुन् ।
नाबालिका माथि जबरजस्ती करणीको अभियोग लागेका मोडल तथा अभिनेता पल शाहलाई बिहीबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जोशी बिहीबार नै धरौटी बुझाएर रिहा भएका थिए ।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको थियो ।
शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर भएको थियो ।
यदि उच्च अदालतले पनि जिल्लाको आदेश पुनः सदर गरिदिएको खण्डमा भने सोही ७३ नम्बर निवेदनसहित सर्वोच्च अदालतसम्म पुग्न सक्ने बाटो उनीसामु खुल्ला नै रहनेछ । योसँगै सर्वोच्चले पनि सुरुकै आदेश सदर गरिदिएमा शाह थुनामै रहेर फेरि पनि नियमित प्रक्रियाबाटै मुद्धा लड्नुपर्ने हुन्छ ।
यद्यपी यस्तो केशमा तत्काल संकलित प्रमाणको रोह र विगतको नजिरहरु हेर्दा बेरितको आदेश बदर हुने सम्भावना भने अत्यन्त न्यून रहेको छ ।
यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको र शाहलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था पुष्टि नहुने शाह पक्षका कानुन व्यवसायीको जिकिर रहेको छ ।