काठमाडौँ —सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागी कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ निर्धारण समेत गरेको छ ।
तर, राजधानीकै अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ ।नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका दुई र काठमाडौं तीनकुनेमा अवस्थित कान्तिपुर अस्पताल प्रालिका दुई कर्मचारीलाई पक्राउ गरेको हो । विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति ८ देखि १८ हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि ती अस्पतालबाट स्वाबको नमुना नलिई फोटो र पासपोर्टका आधारमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरिएको महाशाखाले जनाएको छ ।
प्रहरीले नागरिक हस्पिटलका कर्मचारी धनुषा विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित विमानस्थल अगाडिबाट पक्राउ गरिएको हो । सोही अस्पतालका ल्याब प्रबन्धक सर्लाही बलरा नगरपालिका–७ घर भई मध्यपुर थिमि कौशलटार बस्ने २४ वर्षीय प्रसन्नकुमार झा पनि ल्याबबाटै पक्राउ परेका छन् ।
त्यस्तै, कान्तिपुर अस्पतालका कर्मचारी धनुषा क्षिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनालीलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । कतिपय पीसीआर पोजिटिभ देखिएका नमुनाको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको बताए । ती अस्पतालले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ ।