काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् विघटिन प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद चालिसे विघटित प्रतिनिधिसभाको अर्थसमिति सभापतिसमेत हुन् । उनीविरुद्ध आइतबार विशेष अदालतमा तीन करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको दाबी अख्तियारको छ । कांग्रेस नेता चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) लाई आधार मानेर अख्तियारले अनुसन्धान गरेको थियो । सोक्रममा ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँको मात्र आयस्रोत देखिएको अख्तियारको दाबी छ ।
चालिसेले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरुबाट खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनार्थ आयोगले चालिसको परिवारका सदस्यहरुलाई पनि प्रतिवादी बनाएको छ ।