पीडित किशोरीले सामाजिक सञ्जालमार्फत घटनाको सार्वजनिक गरेपछि प्रहरीले गत शनिबार मनोजलाई राजधानीको स्वयम्भूबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति समेत दिएको छ ।
सो घटना सार्वजनिक भएर आरोपित व्यक्ति थुनामा रहेसँगै अर्की नाबालिगले पनि आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएकी छन् ।हल प्रहरीले पाण्डेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान गरिरहेको छ । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा प्रहरीले अनुसन्धान अगाडि बढाइएको हो ।आरोपित पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् ।
पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सफलताको पार्टी दिने भन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियोपछि उनलाई पक्राउ गरिएको हो ।आठ वर्ष पुरानो घटना भएकाले प्रहरीलाई प्रमाण जुटाउन भने कठिन देखिएको छ । हाल प्रहरीले तत्कालीन समयमा घटना र कार्यक्रमसँग जोडिएकाहरूसँग सोधपुछ र बयान दिने काम गरिररहेको छ ।
यस्तै, मंगलबार सोही घटनामा नाम जोडिएकी पूर्वमिस नेपाल माल्भिका सुब्बासँग प्रहरीले सोधपुछ गरेको छ । माल्भिका सो प्रतियोगिताकी कोरियोग्राफर थिइन् ।पीडित किशोरीले आफूले घटनाबारे माल्भिकालाई जानकारी गराउँदा तत्कालीन समयमा सहयोग नगरेको आरोप भिडियोमा लगाएकी छन् । त्यसपछि उनले घटनाबारे माफी समेत मागिसकेकी छन् ।
यस्तै, प्रहरीले सो प्रतियोगिताकी उपाधि विजेता र तेस्रो हुने प्रतिस्पर्धीसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ । प्रहरी उनीहरुसँग पनि सोधपुछ गरेर आवश्यक प्रमाण जुटाउन जोडबलमा छ ।