काठमाण्डौँ । बाँकेको खजुरा बजारको मनकमना चोक (हाको पृथ्वी चोक) मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको छ ।
चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नोएमसीसी’ लेखिएको थियो । सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चोकमा रहेको राष्ट्रिय झण्डा मुनि बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरबप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट खटिएको टोलीले बम निष्कृय पारेको हो ।
सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई बम निष्कृय पारेको हो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।