Media Network

खुलेआम सीआईबी र धितोपत्र बोर्डको आँखा छल्दै व्यापारी अग्रवाल


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौ । विभिन्न गतिविधिहरुमार्फत ठगी धन्दा चलाइरहेका गोल्डम्यान इन्भेष्टमेन्ट प्रालिका सञ्चालक दीपेन्द्र अग्रवाल यतिबेला छानविनको दायरामा छन् ।

गत चैत्रदेखि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल धितोपत्र बोर्डले गोल्डम्यानमाथि छानबिन प्रक्रिया अगाडि बढाएको थियो । घटना सार्वजनिक भएसँगै इण्डिया छिरेका अग्रवालको बैक खाता बोर्डले रोक्का समेत गरिसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी आफै पनि यसबारेमा पक्राउ र कारवाहीको आधार खोज्न अन्यौलमा देखिन्छ । 

उनलाई पक्राउ गरी कारबाही गर्ने वा नगर्नेबारे धितोपत्र बोर्ड र केन्द्रीय अनुसन्धान ब्युरो यतिबेला कानुनी परामर्शमा छन्।

'बोर्डले हामीलाई अनुसन्धानसहित कारवाहीको लागि भन्दै पत्र पठाएको हो, यद्यपी ठगीको मुद्दा आकर्षित हुने यसमा पीडित र कहिँकतैबाट त्यस्तो जाहेरी नपरेकाले सकभर प्रहरीको क्षेत्राधिकारमा पर्ने विषय भएमा हामीहरु प्रहरीलाई सघाउ गर्ने गरि आवश्यक अनुसन्धान गरिरहेका छौं', सीआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।

धितोपत्र बोर्ड भने अग्रवाल र गोल्डम्यानका सबै बैंक खाता रोक्का राखिसकिएकोले अनुसन्धान नसकिउञ्जेलसम्म आर्थिक कारोबार गर्न नदिने रणनीतिमा छ ।‘हामीहरु अनुसन्धानको प्रक्रियामै छौं, आवश्यकता अनुसार धितोपत्र बोर्डसँग समन्वय गरेर प्रमाण संकलनमा जुटेका छौ, ' -खबरस्टोरीसँग महतोले भने ।

यता, बैंक खाताहरू रोक्का गरेर लगानीकर्ताहरूलाई सुरक्षा दिइसकेका बोर्डले जनाएको छ । 

‘गोल्डम्यानका सञ्चालकले ठगी गरेको भनी किटानी जाहेरी वा कहिकतै पिडितहरु भेटिएमा पक्राउ गर्ने विषयमा धितोपत्र बोर्डसँगै आवश्यक परामर्श लिएका छौं,’ ब्युरोका एक अधिकारीले बताए ।

ब्युरोले गोल्डम्यानमा लगानी गरेका केही व्यक्तिहरूसँग सोधपुछ समेत गरेको थियो । गोल्डम्यानले इन्भेष्टमेन्टले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि आकर्षक योजना सार्वजनिक गरेको थियो। उसले आफ्नो कम्पनीको वेबसाइटमा विज्ञापन सार्वजनिक गरेको थियो। त्यसमा न्यूनतम् १० लाख रुपैयाँ बराबरको संस्थागत सेयर आह्वान गरेको थियो ।

धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइकनै गोल्डम्यानले करोडौं संस्थागत सेयर संकलनको योजना बनाएकाे थियो ।‘यसरी बन्नुस् १० वर्षमै १० लाखबाट १० करोडको मालिक’ भन्दै विज्ञापनमा कम्पनीसँग आवद्ध हुन आह्वान गरिएको थियो । अग्रवाल जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद