२५ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ


खबरस्टोरी संवाददाता
२३ चैत्र २०७८, बुधबार
२५ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ
काठमाडौं।  २५ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार सिन्धुपाल्चोक जिल्लाको साबिक लिसंखु गाउपालिका वडा नं.५ लाटेबोट डाँडा घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध बस्ने ३३ बर्षिय बज्रसिंह लामालाई पक्राउ गरिएको हो । 

प्रतिवादी लामाले एनएमबी बैंक लिमिटेड बौद्ध, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेक दिएको सिआईबीको भनाई छ । सो पश्चात उक्त चेकमा उल्लेखित रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट २०७८ चैत्र एक गते प्रतिवादी लामालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा २५ लाख रुपैयाँ जरिवाना र आठ दिन कैद हुने ठहर गरेको थियो । 

सो पश्चात फरार रहेका प्रतिवादी लामालाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।