नागार्जुन नगरपालिका–६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरु बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्तिहरु इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका–१५ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर चोरी तथा डाँका गर्न नहुने कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।