स्थानिय तहको निर्वाचनको सुरक्षाको लागी भन्दै चैत्र २८ गते देखि तालिम दिएर म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी ४० दिनको लागी सुरक्षामा खटाइएको छ । मृत्यु हुनेमा नुवाकोटमा खटिएका योगेन्द्र न्यौपाने र सिन्धुपाल्चोकमा खटिएका दुर्गासिंह बस्नेतको दुर्घटनामा र सिन्धुपाल्चोकमा अनिता भट्टराईले विष सेवन गरी र बाँके घर भई हुम्लामा खटिएका जस बहादुर रोकायाको सुतेकै स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गर्ने, तोकिएको समयमा डिउटीमा नगएका, सामाजिक सञ्जालको दुरुपयोग, लगायतका नियम विपरीतका कार्यहरु गरेको भन्दै देशै भरीबाट ४८ जनालाई पदमुक्त गरी केहीलाई कारवाही समेत गरिएको प्रहरीले जनाएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानिय तहको निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यो सुविधा स्थायी सुरक्षाकर्मीका साथै म्यादि प्रहरीमा पनि लागु हुने गरी निर्णय गरेको हो । सुरक्षाकर्मीलाई भत्ता र आश्रित परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।