बुधबार नैनीतालस्थित जिल्ला अदालतले आठ वर्षपछि गरेको फैसलामा उनीहरूलाई जनही दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला तोकेको छ । अदालतले प्रधानाचार्य अमनदीप सन्धु, होस्टेल वार्डेन रवि कुमार र परिचारिका पायललाई दोषी ठहर गरेको हो ।
‘चर्च अफ नर्थ इन्डिया’द्वारा सञ्चालित उक्त कलेजमा अध्ययनरत सानको २८ कात्तिक ०७१ मा मृत्यु भएको थियो । कक्षा ९ मा अध्ययनरत उनको मृत्यु कलेजको लापरबाहीका कारण भएको भन्दै न्यायको माग हुँदै आएको थियो । नैनीताल अदालतमा यो मुद्दा घटनाको दुई वर्षपछि पुगेको थियो ।
सेरउड कलेजमा कक्षा ६ मा भर्ना भएका सान कक्षा ९ का विद्यार्थी थिए । त्यसवेला उपचार अभावमा उनको मृत्यु भएको थियो । आमा निना श्रेष्ठका अनुसार पढाइमा अब्बल रहेका सानले चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना सुनाएका थिए । ०७१ को दसैँ–तिहार मनाउन घर आएका १४ वर्षीय सान ८ कात्तिकमा तिहारको भाइटीका मानेर ११ कात्तिकमा नैनीताल पुगेका थिए । त्यसको दुई सातापछि उनको उपचारको अभावमा मृत्यु भएको थियो ।
सानको मृत्युपछि उनका साथी एस झुनझुनवाललाई परिवारले सेरउडबाट निकालेर भारतको पुनेमा भर्ना गरेको थियो ।
घटनाको दुई वर्षपछि अदालतमा चार्जसिट फाइल भएको थियो । नैनीताल अदालतमा ८ फागुन ०७३ मा आरोपी प्रिन्सिपल सन्धु, नर्स भनिएकी पायल पाउल र हाउस मास्टर रवि कुमारले आत्मसमर्पण गरेपछि उनीहरू धरौटीमा छाडिएका थिए । सानको मृत्युको विरोधमा सेरउड कलेजका पूर्वविद्यार्थीले जस्टिस फर सान अभियान सञ्चालन गरेका थिए ।
०७१ मंसिरमा काठमाडौंमा सार्क सम्मेलनमा आएका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो विषय उठाउने जानकारी परिवारलाई दिएका थिए ।